काठमाडौं - सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८-८९ को बजेट ल्याउँदैछन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ ।

प्रदेश १ मा मङ्गलबार अपराह्न ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङका अनुसार आगामी आर्थिक वर्षको लागि सानो आकारको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । यस्तै, प्रदेश २ को प्रदेश सभाको बैठक मङ्गलबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवका अनुसार आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारी नियन्त्रणसहित स्वास्थ्य र भौतिक पूर्वाधारलाई उच्च प्राथमिकता राखिएको छ । 

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आज अपराह्न ३ बजे बैठक बोलाइएको छ । नीति तथा कार्यक्रम शनिबार नै प्रदेश सभाले बहुमतले पारित गरिसकेको छ । बजेट कोरोना नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रलाई प्राथमिकता केद्रिन्त रहने बताइएको छ । 

सोमबार मात्रै नीति तथा कार्यक्रम पारित गरेको गण्डकी प्रदेश सरकारले पनि मङ्गलबार नै बजेट ल्याउन लागेको छ । आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारी नियन्त्रणमा केन्द्रित हुने र धेरै नयाँ कुरा नआउने बताइएको छ । लुम्बनी प्रदेश सरकारको अपराह्न ४ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । यस्तै, बजेट प्रस्तुत गर्न कर्णाली प्रदेशमा मङ्गलबार दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएकाे छ भने सुदूरपश्चिम प्रदेशमा अपराह्न ४ बजे प्रदेश सभा बैठक डाकिएको छ । 

समग्रमा सबै प्रदेशले बजेटको प्राथमिकतामा कोरोना महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई राखेका छन् ।