काठमाडौं - नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै पूर्वमन्त्रीसमेत रहेका सांसद तामाङले गाँजाबारे उक्त दाबी गरेका हुन्।

गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने पनि दाबी तामाङको छ। ‘२ सय लिटरका ४ ड्रम सीभीडी यदि निकाल्ने हो भने यो मुलुकको सम्पूर्ण पूर्वाधार त्यसैलाई बेचेर निर्माण गर्न सकिन्छ। त्यतिमात्रै होइन आज हामीलाई लागेको ऋण कमसेकम एकदुई वर्षमा नै तिर्न सक्ने अवस्थामा पुग्छौं।

सांसद तामाङले एचआईभी एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि गाँजा भएको दाबी गरे। गाँजाका गुण बताउँदै उनले नेपालको स्वास्थ्य क्षेत्र र ऋण तिर्नका लागि उत्पादन र बिक्री वितरण खुला गर्नुपर्ने माग गरेका छन्।

बैठकमा बोल्दै उनले भने, ‘नेपालमा क्यान्सरजस्तो प्राणघातक रोगले धेरै मान्छे मरिरहेका छन् र सम्पति सकिरहेका छन्। यसैगरी प्राणघातक रोग एचआईभी एड्सको कारण पनि मानिसको जिउन पाउने अधिकार नष्ट भइरहेको छ। एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि नै गाँजा हो। यस रोगका बिरामीहरूलाई तत्काल यसको व्यवस्था गरिएन भने हजारौं बिरामीहरू मर्ने खतरामा छन्।’