पुननिर्माण अन्तिम चरणमा प्रभावित
काठमाडौं - गोरखा भूकम्प गएको पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भए पनि कोरोना भाइरस (कोभिड-१९) का कारण भएको बन्दाबन्दीले पुनर्निर्माण कार्य प्रभावित भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरण स्थापना भएको साढे चार वर्षमा अनेक कठिनाइ आए पनि काम अगाडि बढेको तर यता एक महिनादेखि भने काममा पूर्ण असर परेको बताएका छन्।
उनले यतिबेला कोरोना महामारीले देशमा एक महिनादेखि जारी बन्दाबन्दीले काममा असर परेको बताए। पुनर्निर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट तीन खर्ब नौ अर्ब रुपियाँ र गैरसरकारी संस्था मार्फत ७२ अर्ब रुपियाँ गरी तीन खर्ब ८१ अर्ब रुपियाँ खर्च भएको छ।
प्राधिकरणका अनुसार यो अवधिमा चार लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीका निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ। थप एक लाख ९० हजार १४५ अर्थात् २६ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत काम भएको प्राधिकरणको दाबी छ।
वि।सं। २०७२ वैशाख १२ गते भूकम्प गएको पाँच वर्ष पूरा हुनुअघि प्राधिकरणले कार्यप्रगति सार्वजनिक गरेको हो। अन्तिम किस्ता भुक्तानी गर्न प्रमाणीकरण गरिएका लाभग्राहीको सङ्ख्या पाँच लाख ६१ हजार ६५० अर्थात् ७२ प्रतिशत पुगेको जनाइएको छ।
निजी आवास पुनर्निर्माणका क्रममा करिब पाँच लाख गुनासो सम्बोधन भएको र प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेका लागि पुनरावेदन समिति मार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाउको छ।
प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कुल सात हजार ५५३ विद्यालयमध्ये पाँच हजार ५९८ अर्थात् ७४ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । एक हजार ४९२ अर्थात् २० प्रतिशत विद्यालय पुनर्निर्माणका क्रममा छन्।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस