काठमाडौं - नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो एक बजे संसदीय दलको बैठक बोलाइएको छ । 

आजको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । प्रदेश सरकारविरुद्ध आएको अविश्वास प्रस्ताव र त्यसमाथिको राजनीतिक एवं संवैधानिक अन्योलले कर्णालीमा विवाद मच्चिएको छ । 

एकिकृत नेकपाबाट कर्णालीमा मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई अहिले सरकार जोगाउन चुनौति थपिएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई खारेज गरेर पूर्ववत् अवस्थामा फर्कापछि माओवादीका शाही अप्ठ्यारोमा परेका हुन् । एमालेको ओली पक्षले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यसअघि चैत ४ गते बसेको एमालेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई दिइएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो।

तर, एमालेकै नेपाल खनाल पक्षका सासंदले भने सरकारलाई साथ दिइरहेका छन् । सरकारमा एमालेको तीन मन्त्री छन् र उनीहरुले अहिलेसम्म राजीनामा दिएका छैनन् । ती मन्त्रीलाई एमालेले सरकारबाट फिर्ता आउन निर्देशन दिइसकेको छ । 

यसअघिका पार्टीका बैठक बहिस्कार गर्दै अएका नेपाल खनाल पक्षका सांसदहरु आजको बैठकमा भने सहभागी हुने बताइएको छ । ३९ सदस्यीय प्रदेश सभामा एमालेका (सभामुखसहित) २०, माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाका एक सांसद छन् । ३९ जना सांसदमध्ये पनि सरकार गठनका लागि २० जनाको बहुमत आवश्यक पर्छ। एमालेका एक जना सांसद सभामुख भएकाले एमालेका १९ जनामात्र सांसद हुन्छन् । एमालेको संसदीय दलमा हाल नेपाल खनाल पक्षका ९ जना सांसदहरु छन्  । त्यसकारण एमालेको मात्र सरकार बनाउन भने सम्भव छैन । 

शनिबार मात्र  माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले सरकारको बहुमत नगुमेकाले विश्वासको मत माग्नु नपर्ने निस्कर्ष निकालेको थियो । आजको एमालेकोको निर्णयलाई हेरेर आवश्यक कदम चाल्ने सो पार्टीको भनाई छ ।