काठमाडौं - नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद र १४औं महाधिवेशनलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष छलफलमा जुटेकाे छ । राजधानीको एक होटलमा सोमबार विहान पौडेल पक्षीय शीर्ष नेताहरु छलफलमा बसेका हुन् । 

लामोसमय देखि चलिरहेको कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद आइतबार नै टुंगिएको नेताहरुले दाबी गरेका थिए । तर, क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिमा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले अझै व्यवहारिक पक्ष मिलाउन नसकेका हुन् । 

अपराह्न १ बजेपछि बालुवाटारमा समितिको बैठक बस्नेछ । सोही बैठकबाट अन्तिम टुंगो लगाएर ५ बजे प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने बताइएको छ । त्यसअघि पौडेल पक्षका नेताहरु छलफलमा जुटेका हुन् ।  

नेपाली कांग्रेसको १४औं महाधिवेशन हुने/नहुने क्रियाशील सदस्यताको विवाद समाधानमा नै निर्भर देखिएको छ । अहिलेसम्म क्रियाशील सदस्यताको विवादकै कारण महाधिवेशन सर्दै आइरहेको छ । समितिले अधिकांश विवादबारे सहमति जुटाएपनि बारा, सप्तरी र रौतहटका विषयमा सहमति बनिसकेको छैन ।  

कांग्रेसले मंसिर ९ गते देखि १३ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरिसकेको छ । नयाँ कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन सुरु हुँदैछ । यो दिन आउन अब ११ दिन छ । तर, अझै पनि क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन । यसअघि भदौ १६–१९ का लागि तोकेको महाधिवेशन क्रियाशील सदस्यता समयमै नटुंगिदा कांग्रेसले मंसिरमा नयाँ मिति तोकेको हो ।