मेडिकल कलेज भित्रैबाट पेस्तोल बरामद, ‘पेस्तोल राख्ने प्रहरी आफैँ’
काठमाडौं - प्रहरीले चितवन मेडिकल कलेज हाताबाट दुई वटा गोलीसहित पेस्तोल बरामद गरेको छ । चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) एकनारायण कोइरालाका अनुसार कलेजको होस्टेल कम्पाउण्डभित्र टीटी बल खेल्ने स्थान नजिककैबाट कपडाको झोलामा बेवारिसे अवस्थामा रहेको दुई थान गोली भएको पेस्तोल बरामद गरिएको हो ।
यसबारे सोधपुछका लागि कलेजका पाँच गार्डलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन प्रहरी प्रवक्ता कोइरालाले भने, ‘यो घटनामाथि थप अनुसन्धान भइरहेको छ । हामीले सोधपुछका लागि गार्डहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा बोलाएका छौँ ।’ तर, विद्यार्थीले भने आफुहरुको आन्दोलन दबाउन प्रहरीले नै पेस्तोल राख्ने र बरामद गर्ने नाटक रचेको आरोप लगाएका छन् ।
चितवन मेडिकल कलेजकी कला अधिकारीले आन्दोलन दबाउन प्रहरी प्रशासनले नै षड्यन्त्र गरेको बताइन् । उनका अनुसार शनिबार एकाविहानै ३ बजेतिर प्रहरी पेस्तोल भेटिएको भनिएको टीटी खेल्ने ठाउँतर्फ गए । अनि, सेक्युरिटीले नभेटेको पेस्तोल अध्याँरोमा उनीहरुले कहाँबाट भेटे, हामीलाई अचम्ममा पारे । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको तथा मेडिकल कलेजभित्रका वेथितिविरुद्ध अहिले विद्यार्थी आन्दोलित छन् । देशभर सरकारी र निजी गरी २२ कलेज छन् । ती मध्ये अधिकांशमा अहिले पठनपाठन ठप्प छ, विद्यार्थी आन्दोलनमा छन् ।
फेसबुक पेज Like गर्नुहोस