दाङका मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
दाङ-फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका नेकपा एमाले महासचिव शङ्कर पोखरेल मतदातासँगको भेटघाटलाई तीव्रता दिएका छन्।
घोराही उपमहानगरपालिका–६ र १७ का विभिन्न टोलमा आज आयोजित भेटघाटमा पोखरेल मतदासँग संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै जनताको घर–घर पुगेका हुन्।
उनले आफू मुख्यमन्त्री हुँदा दाङको दीर्घकालीन विकासका लागि स्पष्ट खाका तयार गरिएको दाबी गर्दै त्यसैको निरन्तरताका लागि निर्वाचनमा होमिएको बताए।
उनले भने- ‘विकास योजना कागजमा मात्रै सीमित होइन, त्यसलाई पूरा गर्न सक्षम र जिम्मेवार नेतृत्व चाहिन्छ । योग्य नेतृत्व छान्ने जिम्मेवारी मतदाताकै हातमा छ।’
कार्यक्रमका क्रममा पोखरेलले आफू ‘कुराभन्दा काम गर्ने’ नेतृत्वका रूपमा परिचित भइसकेको उल्लेख गर्दै अधुरा योजनाहरू पूरा गर्न पुनः जनमतको आवश्यकता रहेको बताए।
स्थानीय विकासका उदाहरण प्रस्तुत गर्दै उनले सडक, पूर्वाधार, खानेपानी र सिँचाइ जस्ता आधारभूत विषयमा आफ्नो प्राथमिकता स्पष्ट पारे।
घोराही–१७ पचुर्काका उज्ज्वल टोल र पचुर्का टोलका स्थानीयवासीले घरआँगनसम्म कालोपत्रे सडक पुगिसकेको प्रसङ्ग उठाउँदै अब सामुदायिक भवन, खानेपानी र सिँचाइको समस्या समाधानमा ध्यान दिन आग्रह गरेका थिए। स्थानीयले विगतमा सुरु भएका योजनाहरू अलपत्र परेको गुनासो पनि राखेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस