काठमाडौं, एजेन्सी - अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी र टर्कीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा जर्मनी र टर्कीले ३–३ गोलको बराबरी खेलेका हुन् ।

यूईएफए नेसन्स लिगको तयारी गरिरहेको बेला दुई टोलीबीच मैत्रीपूर्ण खेल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा जर्मनीका लागि जुलियन ड्रेक्सर, फलोरियन नेहाउस र लुकासले एक–एक गोल गरे । त्यस्तै टर्कीका लागि ओजान टुफान, इफ्कान कराक र केनान करामनले एक–एक गोल गरे ।

पहिलो हाफको इन्ज्यूरी समायमा जुलियनले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । खेलको ४९ औँ मिनेटमा टुफानले टर्कीका लागि बराबरी गोल फर्काए । ५८ औँ मिनेटमा जर्मनीका लागि नहाउसले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए ।

६७ औँ मिनेटमा टर्कीका लागि कराकले पुनः टर्कीका लागि बराबरी गोल फर्काए । ८१ औँ मिनेटमा लुकासको गोलबाट जर्मनीले खेलमा अग्रता बनाउन सफल भयो ।

खेलको इन्ज्यूरी समयमा करामनले टर्कीका लागि बराबरी गोल फर्काउँदा जर्मनी टर्कीसँग ३–३ गोलको बराबरीमा रोकिएको हो ।