हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता
काठमाडौं - हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार छाया कम्प्लेक्सको होटेल अलफ्टमा भएको एक कार्यक्रमका बीच नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकको तर्फबाट तुलसीप्रसाद गौतमले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
मर्जरपछि बन्ने बैंकको नाम, सञ्चालक समिति, अध्यक्ष र स्वाप रेसियो तथा उच्च व्यवस्थापनजस्ता विषयमा सहमति जुटेसँगै मर्जरको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ । मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने छ ।
मर्जरपछि बन्ने बैंकमा हिमालयनबाट तीन र नेपाल इन्भेस्टमेन्ट बैंकबाट तीनजना सञ्चालक रहने सहमति भएको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा उल्लेख छ ।
सञ्चालक समिति अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा हुनेछन् । इन्भेष्टमेन्ट सीईओ ज्योति पाण्डे डेपुटी सीईओ हुनेछन् ।
बिहीबार दुबै बैंकले जारी गरेको संयुक्त विज्ञप्तिमा मर्जरपछि बैंकको निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ । यसैगरी शाखा संख्या १५२ र कर्मचारी संख्या २५ सय भन्दा बढी पुग्नेछ ।
मर्जरपछि संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै सबल बैंकको रुपमा वित्तीय बजारमा स्थापित हुने लक्ष्य राखिएको विज्ञप्तिमा उल्लेख छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस