काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकनहरूले देश बनाउन नसक्ने बताएका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै मेयर साहले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।

उनले अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘धन्यवाद, तपाईँले हामीलाई हाम्रो देश तपाईँको भन्दा राम्रो रहेको महसुस गराउनुभयो । हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदैछन्। तपाईँ गरिब हुनुहुन्छ कि तपाईंका मानिसहरूले तपाईँको देश बनाउन सक्दैनन्।’

उनले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ भनेका छन्। लालचपूर्ण दासत्व बन्द गरे नेपालका रत्न फिर्ता पाउने उनको भनाइ छ। उनले थप लेखेका छन्– ‘कृपया आफ्नो अभिलाषा (डीभी) दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ। आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस् ।’