प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएकोमा सत्यता छैन : प्रवक्ता श्रेष्ठ
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झुक्याएर शीतल निवास नलगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले स्पष्ट पारेका छन् ।
मंगलबार स्थायी कमिटी बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘झुक्याएर कोहीले लैजाँदैन। कोही जाँदैन। उहाँ झुक्याएर लैजाने खालको अध्यक्ष पनि होइन । सत्य के हो भने अध्यक्ष प्रचण्ड शितल निवास जानुभएको हो।’
यसअघि प्रचण्डले आफू परिवन्धमा परेर शितल निवास पुगेको नेताहरुलाई डाकेर ब्रिफिङ गरेका थिए । शनिबार सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी ओली र प्रचण्ड राष्ट्रपति निवास पुगेका थिए ।
यस्तै, प्रवक्ता श्रेष्ठले मंसिरमा महाधिवेशन गर्नेबारे आज कुनै छलफल नभएको पनि बताएका छन् । बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिँदै स्थायी कमिटी बैठक पनि साउन १३ गते ११ बजे बालुवाटारमा बस्ने गरी स्थगित गरिएको छ । बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
आजको स्थायी कमिटी बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए ।
फेसबुक पेज Like गर्नुहोस