बैठकको माग गर्दै नेकपाका १५३ केन्द्रीय सदस्यद्वारा लिखित ध्यानाकर्षणपत्र दर्ता
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सय ५३ जना केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठकको माग गर्दै लिखित ध्यानाकर्षणपत्र दर्ता गराएका छन् ।
बुधबार दिउँसो धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेर एक सय ५३ केन्द्रीय सदस्यहरुले हस्ताक्षरसहित कार्यालय सचिव श्रीराम ढकालमार्फत लिखित ध्यानाकर्षणपत्र दर्ता गराएका हुन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाउनेगरी समय तय भए पनि अन्तिम समयमा कार्यब्यस्ततालाई कारण जनाएर अनुपस्थित भएपछि पार्टी कार्यालयमा कार्यालय सचिव ढकालमार्फत लिखित ध्यानाकर्षणसहितको मागपत्र दर्ता गराइएको स्रोतले बताएको छ ।
नेकपाको विधानको धारा ५९ (४) अनुसार कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र र मातहत कमिटीको बैठक १५ दिनभित्र बोलाउनुपर्नेछ । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटमा बैठक बोलाउन १ सय १२ जना सदस्यको हस्ताक्षर आवश्यक पर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जारी स्थायी समिति बैठक एकतर्फी रुपमा रोकेर महाधिवेशनमा केन्द्रित भएको भन्दै केन्द्रीय सदस्यले आपत्ति जनाएका हुन् । विवादकै बीच केन्द्रीय सदस्यहरुले केही दिन अघि धुम्बाराहीमा धर्ना पनि दिएका थिए।
फेसबुक पेज Like गर्नुहोस