एनआईसी एशिया बैंक २४औं वर्षमा प्रवेश
काठमाडौं - एनआईसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको छ । २०५४ साल साउन ७ गते स्थापना भई कारोबार शुरु गरेको यो बैंक आजबाट २४ वर्षमा प्रवेश गरेको हो ।
देशकै सबैभन्दा बढी शाखा विस्तार गरी ग्राहकलाई सेवा दिन सफल यस बैंकले हाल ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएम मार्फत आफ्ना २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत ग्राहकलाई गुणस्तरिय सेवा प्रवाह गर्दै आइरहेको छ । यो अवधिमा सेयरधनीलाई अप्टिमम् वेल्थ म्याक्सिमाईजेशन गरी लगानीमा उच्चतम प्रतिफल वितरण गरेको बैँकले जनाएको छ ।
सर्वसाधारण शेयरधनीको सुरुवाती एक कित्ता पब्लिक शेयरको मूल्य हाल रु १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि हो । त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा गरी प्रत्यक्ष र अप्रत्यक्ष रु १५ अर्ब ७३ करोड भन्दा बढी राजश्व सरकारलाई भुक्तानी गर्न सफल भएको बैँकको दाबी छ ।
बैंकले कोभिड १९ बाट सृजित असहज परिस्थितिमा समेत यस बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जातर्फ ५२ प्रतिशत (रु ८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत (रु ८८ अर्ब ९६ करोड) वृद्धि गर्न सफल भएको छ । कर्जा तथा निक्षेप वृद्धिमा बैंकले हासिल गरेको वार्षिक वृद्धि रकम नेपालको बैंकिङ्ग इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै रहेको दावी गरिएकाे छ ।
आर्थिक वर्ष २०७७/७८ मा समग्र बैंकिङ्ग क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गर्न बैंक सफल भएको छ ।
२४औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएका छ । जस अन्तर्गत यस बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी पीओएस तथा ई कमर्शमा भुक्तानी गर्दा तथा एनआईसी एशिया मोबैंक मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म क्यासब्याक योजना प्राप्त गर्न सकिने छ । यो सुविधा साउन ७ गते कार्ड वा एनआईसी एशिया मोबैंकबाट कारोबार गर्ने पहिलो एक हजार ग्राहकले पाउन सक्नेछन् ।
फेसबुक पेज Like गर्नुहोस