‘घोर प्रतिगामी प्रवृति देखापर्यो, वामपन्थीकाे ऐक्यवद्धता अहिलेको आवश्यकता’
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता रहेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको र त्यसलाई परास्त गर्न सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन अपील गरेका हुन् । कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई किनारा लगाउने गरेको पनि उनले उल्लेख गरेका छन् ।
‘कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ । ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको छ ।’ प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिन्छ । देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो ।’
अध्यक्ष प्रचण्डले तत्कालिन सोभियत संघलाई एकतावद्ध गर्न लेनिनले खेलेको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्नसक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिहरु विरुद्ध लड्दै र खारिँदै सिंगो राष्ट्रलाई नै समाजवादको लक्ष्यमा लामवद्ध गराउन सक्षम साबित भएको पनि उनले उल्लेख गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस