अनिश्चितकालसम्मका लागि स्थगित भयो श्रम स्वीकृति
काठमाडौं - सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ ।
विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले श्रम स्वीकृति दिन अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको जनाएको हो ।
सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई पनि ३० अप्रिल अर्थात् वैशाख १२ गतेभन्दा अगाडि ‘नो अब्जेक्सन सर्टिफिकेट’ नदिने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीको मुख्य गन्तव्य मानिएका खाडी मुलुकमा पनि अहिले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले तत्कालका लागि श्रमस्वीकृति स्थगित गरिएको जानकारी दिए।
उहाँले वैदेशिक रोजगार विभागअन्तर्गत श्रम कार्यालयबाट अन्तिम र पुनः श्रम स्वीकृतिका काम सरकारको अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको पनि जानकारी दिनुभयो । महानिर्देशक दाहालका अनुसार श्रम कार्यालयबाट पूर्व श्रम स्वीकृति दिने र अन्य नियमित काम भने नरोकिँदैन ।
दैनिक एक हजार जनाले श्रम स्वीकृति लिएर विदेशिने गरेकोमा कतारले रोकेसँगै दुई सयमा झरेको थियो । साङ्केतिक रूपमा धेरै देशबाट श्रमिकको माग आउन छोडिसकेको थियो ।
कोरोना भाइरसबाट बच्नका लागि अन्य देशले पनि आवश्यक सतर्कताअनुरूप अन्तर्राष्ट्रिय हवाई उडान र आवतजावतमा प्रतिबन्ध लगाएका छन् । बुधबार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेको थियो ।
नेपालको मुख्य श्रम गन्तव्य कतार, साउदी, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई)लगायतका देशमा पनि अहिले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।
यसअघि सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरेको थियो । कोरोनाको सङ्क्रमण बढ्न नदिन कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ । त्यस्तै कुवेतले बिहीबारदेखि सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा पनि दिएको छ ।
कुवेतले शुक्रबार रातिदेखि कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गर्ने निर्णय गरेको छ । साउदीले पनि नेपालबाट हुने सीधा उडानबाहेक ट्रान्जिट हुँदै प्रवेशमा रोक लगाएको छ भने तीनवटा विमानस्थल मात्र खुला गरेको छ ।
सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै भारतले पनि आफ्नो देशका नागरिकलाई समेत अन्य देशबाट आउन प्रतिबन्ध लगाएको छ भने सीमानाका बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै नेपालले तेस्रो देशका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा शनिबारदेखि वैशाख १८ सम्मका लागि रोक लगाएको छ ।
विदेशीलाई दिइँदै आएको अनअराइभल भिसा पनि वैशाख १८ गतेसम्मका लागि यसअघि नै स्थगित गरेको छ भने भिसा लिइसकेका विदेशी नागरिकले नेपालको अध्यागमन आइपुग्नुभन्दा सात दिनअघिको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।
पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमित बिरामीको सङ्ख्या निकै कम भए पनि अन्य देशमा भने बढ्दै गएको छ । बिहीबार चीनले कोरोनामुक्त भएको घोषणा गरिसकेको छ ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस