काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर भएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)को आयोजनामा भएको ‘नेपाल चीन बिजनेस समिट’ मा प्रचण्डले आफ्नो भ्रमणले सम्बन्धलाई बलियो बनाउने बताएका छन्। प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपालमा अवसरहरूको सम्भावना भएकाले उद्यमी र लगानीलाई स्वागत गरिन्छ भन्ने सन्देश दिन आफू समिटमा आएको बताए।

एक सय २० जना चिनियाँ कम्पनीको सहभागिता रहेको समिटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा जलविद्युत्, कृषि, वन, जडीबुटी र सूचना प्रविधिको क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल आउने बताए। चीनले पूर्वाधारदेखि औद्योगिकीकरणसम्म, मानव विकासदेखि गरिबी निवारणसम्म गरेको अकल्पनीय विकासबाट संसारले पाठ सिक्नुपर्ने उनले बताए।

समिटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्धन र निर्यात विस्तारका विषयमा धारणा राखे। समिटमा नेपालबाट ५० जना उद्योगी व्यापारी सहभागी थिए।