काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले आज बस्ने प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ पनि प्रस्तुत गर्नेछन्।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

उक्त सम्झौता नेपाल–भारतबीच दीर्घकालीन ऊर्जा सहकार्यका दृष्टिले महत्वपूर्ण मानिएको छ।

यसैबीच, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने भएको छ। दुवै समितिले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय गर्नेछन्।