काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी समकक्षी शेख हसिनाबीच टेलिफोन संवाद भएको छ ।

मंगलबार (आज) भएको फोन संवादमा प्रधानमन्त्री ओलीले यो सिजनमा खेतिपातीको लागि आवश्यक युरिया मल निर्यातको लागि सहयोग गर्न बंगलादेशकी समकक्षी हसिनालाई आग्रह गर्नुभएको छ ।

टेलिफोन संवादमा ओलीले हसिनासँग ५० हजार टन युरिया मल पैँचोका लागि आग्रह गर्नुभएको हो । परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै ओलीको आग्रहलाई हसिनाले सकारात्मक रूपमा लिएको उल्लेख गरेको छ ।

खेतिपातीको मुख्य सिजनमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग सापटी लिन लागेको बताइएको छ । जसको लागि कृषि मन्त्रालयले गृहकार्य गर्दै आइरहेको जनाइएको छ ।

टेलिफोन संवादको क्रममा ओली र हसिना दुवै जनाले दुई मुलुकबीच व्यापार, ऊर्जा र पारवहनलगायतका विषयमा थप सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको थियो ।