काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालमा बैंकले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. प्रमोदकुमार यादवले एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै अस्पतालको सबै सेवाको आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले बिरामीलाई सहज हुने र अस्पताललाई पनि आर्थिक पारदर्शितामा सहज हुने बताए ।

कार्यक्रममा बैंकका प्रदेश नम्बर २ प्रमुख यसपाल कुमार तिब्रेवाल र अस्पतालका विभिन्न विभागीय प्रमुखको उपस्थिति रहेको थियो ।

बैंकका जनकपुर शाखाका प्रबन्धक गलेककुमार यादवले सेवाग्राहीलाई प्रभावकारी सेवा दिइने बताए । एक्सटेन्सन काउन्टरमार्फत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप बैंकले यसअघि पनि विभिन्न स्थानमा एक्सटेन्सन काउन्टर विस्तार गरिसकेको छ । बैंकको हाल २ सय ३ वटा शाखा र २५ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन ।