काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले फेवाताल क्षेत्रको जग्गा प्रकरणलाई लिएर गृहमन्त्री सुधन गुरुङमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत लामो धारणा सार्वजनिक गर्दै साम्पाङले गृहमन्त्री गुरुङको नाममा फेवातालमा २० रोपनी जग्गा रहेको भन्ने खबरले आफूलाई ‘नमज्जा’ लागेको बताएका छन् । उनले यस विषयमा सत्यतथ्य सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न आग्रह गरेका हुन् ।

साम्पाङले यो विषयलाई नैतिकताको सवाल का रूपमा उठाउँदै गृहमन्त्रीले स्पष्ट जवाफ नदिए जनताले विश्वास नगर्ने चेतावनी दिएका छन्।

उनका अनुसार आफू प्रतिपक्षी दलको नेता भएकाले गृहमन्त्रीमाथि प्रश्न उठाउनु आफ्नो पदीय जिम्मेवारी हो। उनले आफ्ना प्रश्नहरू व्यक्तिगत नभई कानुनी र व्यावसायिक रहेको स्पष्ट पारेका छन्।

साम्पाङले सामाजिक सञ्जालमा फेवाताल जग्गा प्रकरणबारे चर्चा चुलिँदै गएको उल्लेख गर्दै गृहमन्त्रीलाई यथार्थ सार्वजनिक गर्न ढिलाइ नगर्न आग्रह गरेका छन्।

‘सामाजिक सञ्जाल तातिँदा नमज्जा लागेको छ, खास कुरा के हो—पत्रकार सम्मेलन राखिहाल्नुस्,’ उनले लेखेका छन्।

साम्पाङले अन्त्यमा गृहमन्त्री गुरुङले सत्य स्पष्ट पार्ने विश्वास व्यक्त गर्दै भविष्यमा हृदयदेखि बधाई दिने दिन चाँडै आउने आशा समेत व्यक्त गरेका छन्। 

यसैबीच साम्पाङले जेनजी आन्दोलनको चैत २३ गतेको घटनाका दोषीहरू पक्राउ गरिएकोमा गृहमन्त्री गुरुङको प्रशंसा गरेका छन्।

गलत काम गर्नेहरूको सूची बनाएर कारबाही अघि बढाएको भन्दै उनले उक्त कार्यलाई अझ सशक्त बनाउन शुभकामना समेत दिएका छन्।