१२ कक्षाको उत्तरपुस्तिका विद्यालयमै जाँचेर १ महिनाभित्र परीक्षाफल प्रकाशित गरिने
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकेको १ महिनाभित्र १२ कक्षाको परीक्षाफल प्रकाशित गर्न तयारी थालेको छ ।
मंगलवार पहिलो दिनको परीक्षा सम्पन्न भएलगत्तै बोर्डले १ महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको हो ।बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले २२ गतेभित्र सबै केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरी बोर्डमा पठाउन निर्देशन दिइसकेको जानकारी गराए । यो वर्ष विद्यालय आफैंले उत्तरपुस्तिका परीक्षण गरी पठाउनुपर्ने व्यवस्था गरेको छ ।
४० पूर्णांकको लिखित परीक्षा भएको र विद्यालयबाटै उत्तरपुस्तिका परीक्षण गरी पठाउने व्यवस्था भएका कारण १ महिनाभित्र परीक्षाफल प्रकाशित गर्न सकिने अड्कल गरिएको अध्यक्ष प्रा.डा. पौडेलले जानकारी गराए । उनले भने, ‘तोकिएको समयमा उत्तरपुस्तिका प्राप्त भए १ महिनाभित्र सजिलै परीक्षाफल प्रकाशित गर्न सक्छौं ।’ तर प्राविधिक र उत्तरपुस्तिका ढिलो आए केही ढिला हुन सक्ने बोर्डको आकलन छ ।
अध्यक्ष पौडेलले फरक जिल्लाका करीब १८ हजार विद्यार्थीको उत्तरपुस्तिका बोर्डले परीक्षण गर्नुपर्ने भएकाले केही ढिला हुन सक्ने बताए ।
बोर्डले फरक जिल्लाबाट परीक्षा दिएका विद्यार्थीको हकमा प्रदेश र शाखा कार्यालयबाट परीक्षा सकेको केही दिनमा उत्तरपुस्तिका पठाउन निर्देशन दिएको छ । तीबाहेक होम सेन्टरबाट परीक्षा दिएका विद्यार्थीको समस्या नपर्ने अड्कल बोर्डले गरेको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार परीक्षा सकिएको १ महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको जानकारी दिए । ‘परीक्षा सकेको विषयमा तत्काल परीक्षण गरी सबै विद्यालयलाई अंक पठाउन निर्देशन दिइसकेका छौं,’ उनले भने ।
सबै प्रदेश कार्यालयलाई केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरी पठाउने व्यवस्था गर्न बोर्डले निर्देशन दिइसकेको छ । मंगलवारबाट शुरू भएको परीक्षा १६ गते सकिँदै छ । पहिलो दिनको परीक्षा शान्तरूपमा सम्पन्न भएको बोर्डले जनाएको छ ।
देशभरका ४ लाख ३२ हजार विद्यार्थी सहभागी भएको परीक्षा साढे १ घण्टाको थियो । परीक्षाको अनुगमन गर्न त्रिपुरेश्वरस्थित विश्वनिकेतन मावि पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षाको व्यवस्थापन देखेर खुशी व्यक्त गरेका थिए ।
अनुगमनका क्रममा उनले व्यवस्थापन गर्ने सबैलाई धन्यवाद दिएका थिए । ४ हजार १०५ केन्द्रमा भएको परीक्षामा सबैले स्वास्थ्य मापदण्ड पूरा गरेका थिए । विद्यार्थीले अनिवार्यरूपमा मास्क लगाएका थिए ।
अधिकांश विद्यालयले २ मिटर दूरीमा २० जना विद्यार्थी मात्र राखेका थिए । केही विद्यालयका आफ्ना निरीक्षकलाई अनिवार्यरूपमा पीपीई लगाउने व्यवस्था गराएको थियो ।
केन्द्रका विद्यार्थी र निरीक्षकबाहेक अन्यलाई प्रवेशमा कडाइ गरिएको थियो । आफ्नै विद्यालयमा केन्द्र परेकाले अधिकांश विद्यार्थी खुशी भएका थिए ।
परीक्षामा सहभागी विद्यार्थीलाई ज्वरो परीक्षण गराइएको थियो । बोर्डका बागमती प्रदेश प्रमुख जयन्ती सत्यालले प्रदेश अन्तर्गतका सबै केन्द्रमा व्यवस्थित रूपमा परीक्षा सम्पन्न भएको जानकारी दिए ।
‘उपत्यकालगायत प्रदेशका सबै केन्द्रमा शान्तपूर्ण परीक्षा भएका छन्,’ उनको भनाइ थियो । बोर्डले परीक्षा हुनु आधा घण्टाअघि मात्रै मेलबाट प्रश्नपत्र पठाएको थियो ।
नेपाल समाचारपत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस