काठमाडौं - नेकपा (एमाले) को सुदूरपश्चिम संसदीय दलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पक्षका प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ । पूर्वमन्त्री समेत रहेका प्रदेश सांसद पठानसिंह बोहरालाई प्रदेश संसदीय दलले स्पष्टीकरण सोधेको हो ।

बोहरालाई सोधिएको स्पष्टीकरणमा संसदीय दलका नेता प्रकाशबहादुर शाहको हस्ताक्षर छ । बोहोरालाई सोधिएको तीन बुँदे स्पष्टीकरणमा स्वयम् सहभागी संसदीय दलले गरेको निर्णयविरूद्ध किन अभिव्यक्ति दिइएको ? भनेर जवाफ माग गरिएको छ ।

‘तपाईंले नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश, प्रदेशसभा दल र त्यसका निर्णयका विरूद्ध आफूले सार्वजनिक अभिव्यक्ति दिनुका साथै दलका अन्य सदस्य तथा पार्टीपंक्तिलाई समेत उक्साउने र भड्काउने दुरासायले गुटबन्दी गर्दै दलको एकता र गरिमालाई छिन्नभिन्न पार्ने प्रयत्न किन गरिरहनु भएको छ ?’ बोहरालाई सोधिएको स्पष्टीकरणमा उल्लेख छ । साथै आफ्नो निहीत स्वार्थका लागि दलको एकता र प्रभावकारीतामा आँच पुर्याउने कार्य किन गरेको भन्दै जवाफ मागिएको छ ।