सरकारलाई कांग्रेसले भन्यो: ‘सदनमा छलफल गरेर एमसीसी पारित गरौँ’
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट छिट्टै पास गराउन सरकारलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेसले एमसीसी पारित हुनुपर्ने धारणा राखेको हो । आफ्नै सरकार हुँदा उक्त सम्झौता भएको भन्दै आपत्तिजनक कुरालाई केलाएर संसदबाट पास हुनुपर्ने कांग्रेस नेताहरुको भनाई छ ।
‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीज्यूले एमसीसी कसरी पास गर्ने भन्ने कुरा गर्नुभयो । कांग्रेसको सरकारले हस्ताक्षर गरेको एमसीसीको बारेमा हामी प्रस्ट छौं, आपत्तिजनक केही छ भने हेरौं, सदनमा छलफल गरौं भनेर कुरा राख्यौं,’ बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।
यस्तै, बैठकमा काँग्रेसले जारी राजनीतिक गतिरोधलाई छिटो निकास दिन प्रधानमन्त्री ओलीलाई सुझावसमेत दिएको छ । प्रतिनिधिसभामा रिक्त रहेका पदहरुमा उपनिर्वाचन र कोभिड-१९ महामारी नियन्त्रणका लागि लकडाउन गर्न नहुने भन्दै कांग्रेसले रोकथाममा लाग्न सुझाव दिएको छ।
फेसबुक पेज Like गर्नुहोस