उदयपुर -  प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वले अपहरण भएकी बालिकाको २४ घण्टापछि प्रहरीले सकुशल उद्वार गरेको छ । विप्लव समूहका १४ नेता कार्यकर्तालाईसमेत प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको गणेशमानचारनाथ नगरपालिका–५ चिसापानीका लालबहादुर मोक्तानकी १४ वर्षीया छोरी करिनालाई फागुन २८ गते गौरीखोलाबाट अपहरण गरी ल्याउनेक्रममा प्रहरीले उदयपुरको कटारी–१ खसीबासबाट उद्वार गरेको हो । पक्राउ परेका विप्लव कार्यकर्ताबाट भारी मात्रामा हतियारसमेत प्रहरीले बरामद गरेको छ ।

आफ्नो समूहमा आवद्ध गराउँदै लडाकु बनाउने उद्देश्यले अपहरण गरी भाग्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। १ नम्बर प्रदेश र २ नम्बर प्रदेश प्रहरीको समन्वयमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई मेडइन युएसए लेखेको ९ राउण्ड गोलीसहित पेस्तोल तीन नाल, सकेट वम ११ वटा, प्रेसर कुकर वम एक, डेटोनेटर तार दुई मिटर, खुकुरी दुई थान, मोवाइल दुई, पार्टीका प्रचार तथा बन्दोबस्ती सामग्रीसहित पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक प्रधुम्न कार्कीले जानकारी दिए।

पक्राउ परेकामा ६ जना युवती र ८ जना पुरुष छन्। प्रक्राउ पर्नेमा इलाम याकथोकका मुस्कान राई, आयुस मगर, सुनसरीका विवेक खड्का, सर्लाहीकी रिता कार्की, सोलुखुम्बुका विकास राई, ताप्लेजुङकी रन्जना राई रहेका छन्।

यस्तै, उदयपुरका अभिनास तामाङ, त्रियुगा नगरपालिकाका आशिस लामा, धनकुटा पाख्रिबासकी अनिता राई, सिन्धुली ईश्वर पुनमगर, कैलालीकी अनुस्का राउत, मोरङकी सपना राई, आशिष श्रेष्ठ र भोजपुरका मनोराम राई रहेको डीआइजी कार्कीले पुष्टि गरे।