काठमाडौ - काठमाडौँको कागेश्वर मनहरा नगरपालिकाको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनालाई र्‍यापिङ टेस्टमा कोरोना पोजेटिभ देखिएको छ।

नगरपालिकाले विदेशबाट आएका ३६ जनाको नमूना सोमबार मुलपानीस्थित नगर अस्पतालमा परीक्षण गर्दा तीनजनामा पोजेटिभ देखिएको छ ।

उनीहरु आमा, छोरा र बुहारी हुन्। तीनै जनालाई तत्कालै पाटन अस्पताल भर्ना गरिएको छ। अब उनीहरुको नमूना पिसिआर प्रविधिबाट जाँच गरेपछि निश्चित गरिने अस्पतालका निर्देशक डा.विष्णु शर्माले बताए।

कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरी थापाका अनुसार उनीहरु ५ चैतमा लन्डनबाट फर्किएका थिए। उनीहरुलाई लक्षण भने देखिएको थिएन।

तर, र्यापिङ टेस्ट गर्दा पोजेटिभ देखिएको थापाले बताए। संक्रमण देखिएकाहरुले सेल्फ क्वारेन्टाइनमा बस्दै आएको बताएका छन्।

प्रहरीले सोमबारै अर्पाटमेन्टमा शिल गरेको छ। अपार्टमेन्टमा करिब पाँच सय परिवारका १८ सय बस्छन्। अपार्टमेन्टमा कसैलाई पनि भित्रबाहिर गर्न दिइएको छैन।

अपार्टमेन्टको गेटमा प्रहरी तैनाथ गरिएको छ। भित्र कसैलाई औषधिलगायत सामान चाहिए प्रहरी मार्फत नै उपलव्ध हुने व्यवस्था मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले बताए।

अपार्टमेन्टभित्रै कार्यक्रम भएको, लिफ्टको प्रयोग हुने र नजिकैको एटिएम बुथ धेरैले प्रयोग गरेकाले भित्र बस्नेहरु त्रसित बनेका छन्। 

 नयाँ पत्रिका दैनिकबाट