काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिई बुधबार मध्य रात स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्रीलाई स्वागत गरे ।

सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति थियो। प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो।

तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएका थिए ।

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह,उच्चपदस्थ सरकारी अधिकारी, सञ्चारकर्मी र सुरक्षाकर्मीसमेत सहभागी भएका थिए ।