इलाममा सशस्त्र प्रहरी र विप्लव समूहबीच गाेली हानाहान, जिल्ला इन्चार्ज पक्राउ
इलाम - इलाममा माई नगरपालिका–९, बोरुङमा सशस्त्र प्रहरी र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।
मंगलबार बिहान १ बजे विशेष सुराकीका आधारमा दानाबारी र चिसापानीबाट गएको टोलीले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेपछि विप्लव समूहको सेन्ट्रीले गोली चलाएको सशस्त्र प्रहरीले जनाएको छ । त्यसपछि सशस्त्र प्रहरीले जवाफी ७ राउण्ड फायरिङ गरेको थियो ।
घटनास्थलबाट सङ्खुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय पासाङ तामाङ पक्राउ परेका छन् । विष्फोटक पदार्थ र त्यसमा लागि प्रयोग हुने सामग्रीसहित उनीहरुलाई पक्राउ गरेको इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार उनीहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम एक थान, ग्रिनेड एक थान, टुकीबम एक थान, पाइपमा फिट गरिएको बम एक थान, डेथकड ६७ फिट, बम विष्फोटमा प्रयोग हुने मिटर र रिमोट चार थान, विभिन्न प्रकारका विष्फोटक पदार्थ, चक्कु तथा दस्तावेज फेला पारिएको छ । पक्राउ परेका तिनै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय इलाम ल्याइपुर्याइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस