काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई धम्की दिएको भन्दै वृहत् नागरिक आन्दोलनले सुरक्षाको लागि अपिल गरेको छ । 

बृहत नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले आइतबार एक विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीले उपाध्यक्ष डा गिरीलाई बालुवाटारमा बोलाएर झापाको बीएण्डसी अस्पताललाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाव दिएको भन्दै आपत्ति जनाएको हाे । यस्तै, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले पनि राजीनामा गर्न धम्की दिएको भन्दै गिरीको भौतिक तथा मानसिक सुरक्षाका लागि अपिल गरिएको छ ।

‘आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाई प्रकृया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाव दिएका छन् ।’ विज्ञप्तिमा भनिएकाे छ, ‘शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ ।’ 

प्रधानमन्त्रीको सरकारी निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक रहेको पनि उल्लेख गरिएको छ । अपीलमा भनिएको छ -  ‘त्यसैले डा. गिरीको जीवन रक्षा अहिले हाम्रो मुख्य चिन्ताको विषय बन्न पुगेको छ । चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछौं । ’