काठमाडौं,नवलपुर - पूर्वी नवलपरासीस्थित चौधरी ग्रुप इन्डष्ट्रियल पार्क सि. जी. आइ. पी परिसरमा लागेको आगो नियन्त्रणमा आएको छ । जिल्लाको देवचुली नगरपालिकास्थित संचालित सि. जी ब्रुअरीमा बुधबार बिहान साढे आठ बजेबाट लागेको आगो करीब ५ घण्टापछि नियन्त्रणमा आएको हो ।

पूर्व र पश्चिम नवलपरासीसहित चितवनका ७ वटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।

सिजी ब्रुअरीको गोदाम घरबाट सुरु भएको आगोले तयारी अवस्थामा रहेको बियर, तथा अन्य पेय पदार्थ र उत्पादनका लागि राखिएका कच्चा पदार्थ लगाएतका सामग्री जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

आगो नियन्त्रणका लागि गोदाम घरका भित्ताहरु समेत भत्काइएको थियो । आगो बढ्दै गएर उद्योगको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घरको भित्ताहरु भत्काएर आगो नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए । गोदाम घरमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।