काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने भएको छ । विहीवार राति प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपा अध्यक्ष ठाकुरले छलफल गरेसँगै आजै सरकारमा सहभागी हुने सम्भावना प्रबल बनेको हो । 

नागरिकता अध्यादेश, मधेस आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि मधेशका माग पूरा गरेको भन्दै सत्तामा सहकार्य गर्न ठाकुर-महतो पक्ष तयार भएको हो ।

सरकारमा जान ठाकुर-महतो पक्ष र प्रधानमन्त्री ओलीबीच यसअघि नै मन्त्रालय बाँडफाँडमा सहमति भैसकेको छ । जसपाबाट आठ मन्त्री तथा दुई राज्य मन्त्रीसहित १० जनालाई मन्त्रिमण्डलमा सहभागी गराउने तयारी छ ।

यसकै लागि शुक्रबार नै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्ने तयारी समेत गरेको स्रोतले बताएको छ ।