काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थाल्नुभएको छ । पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् ।

नेताले भेटघाट कम गरेका छ भने कोरोनाबाट बच्ने उपाय अपनाउन थालेका छन् । नेता घरमा बस्दा पनि मास्क लगाउनुका साथै स्यानिटाइजर तथा साबुन पानीले हात धुने कार्य गरिरहेका छन् ।

मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहेका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाट बन्द गरेका छन् । कोरोना भाइरससँग सम्बन्धित कुनै विषय भयो भने केही सम्बन्धित व्यक्तिसँग छलफल गर्नुहुन्छ नभए भेटघाट पूरै बन्द गर्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनदेखि घरबाट निस्किएका छैनन् । उनी ‘सेल्फ क्वारेन्टाइन’मा छन् । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार कोरोना भाइरसका कारण अध्यक्ष प्रचण्डले आफ्ना सबै राजनीतिक कार्यक्रम तथा भेटघाट स्थगित गरेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक भेटघाट तथा कार्यक्रम स्थगित गरेका छन् । तीन दिनदेखि उनी घरमै छन् । उनका स्वकीय सचिव भानु देउवाका अनुसार कोरोना भाइरसबाट बच्न उनी सचेत भएका छन् ।

 गोरखापत्र दैनिकबाट