काठमाडौं - समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी सरकारमा गएर आत्महत्या गर्छ भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन् ।

‘प्रधानमन्त्रीले संविधान संशोधन हुन्न भनेर स्पष्ट बोलेको बेला राजपा सरकारमा गएर आत्महत्या गर्नुहुन्न भन्ने मेरो विश्वास छ,’ उनले भने । अध्यक्ष यादवले संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुका कुरै नसुनेको गुनासो पनि गरे ।

उनले सम्झौतामा हस्ताक्षर गरेर पनि प्रधानमन्त्रीले संविधान संशोधनका लागि चासो नदेखाएको भन्दै गुनासो गरेका हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधान संशोधनका लागि सहमत भएपछि हामी सरकारमा गएका थियौँ’, उनले भने, ‘तर प्रधानमन्त्रीले उखान टुक्का जोड्दै संविधान संशोधन गर्नुनपर्ने कारणको औचित्य पुष्ट गर्न खोज्नुभयो ।’

अध्यक्ष यादवले प्रधानमन्त्रीबाट सहकार्यका मूल्य र मान्यतालाई लत्याएको आरोप लगाउँदै भने, ‘संविधानका कुन कुन बुँदामा संशोधन गर्ने भनेर विज्ञहरुको समूह बनाएर अघि बढ्ने कुरा भएको थियो ।’

उनले अगाडि थपे, ‘विज्ञहरुको समिति बनाउने कुरा पनि प्रधानमन्त्रीले मानेनन् । मैले संविधान संशोधनका लागि बुँदा तयार गर्न विज्ञहरुको समिति बनाऊँ भन्दा पनि प्रमले अस्वीकार गर्नुभयो ।’

यादवले आफू दिल्ली गएका बेला अपमानपूर्वक एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सारिएको भन्दै आक्रोश पोख्दै भने, ‘आफ्ना देशका मन्त्रीलाई स्वास्थ्य मन्त्रीका हैसियतमा उनै प्रधानमन्त्रीले विदेश पठाए । तर कार्यक्रमको पहिलो सत्रमा बोल्दा स्वास्थ्यमन्त्री, दोस्रो सत्रमा अर्कै मन्त्री ? यो जस्तो अपमानजनक व्यवहार के हुन्छ अरु ?’

अध्यक्ष यादवले राजपासँग धेरै कुरा मिलेकाले पार्टी एकता बताए । ‘पार्टी एकता अघि बढाउन सहमति भएको पनि हो। राजपाले सरकार छाडेमा एकता हुने भनेको छ’, उनले भने, ‘अब राजपाले के कदम चाल्छ, हामी त एकताका लागि तयार छौँ। राजपाले जानी जानी आत्मघाती कदम उठाएर सरकारमा जाँदैन ।’