लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथिको सुनुवाई न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । यसअघि उक्त रिट निवेदन हेर्न नभ्याइनेमा राखिएको थियो ।
विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी समावेदन गरेपछि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठककाे विशेष अधिवेशन आह्वान गरेका थिए । त्यसलाई रोक्न लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले रिट दायर गरेका थिए । यसै रिटलाई पोखरेलको सत्ता बहिर्गमन रोक्नका लागि ‘अन्तिम अस्त्र’ मानिएको छ ।
प्रदेशसभामा विशेष अधिवेशन आज दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । सतासी सदस्यीय रहेको लुम्बिनी प्रदेशसभामा हाल ८० प्रदेशसभा सदस्य छन् । सरकारको समर्थनमा नेकपा (एमाले)का ३९ प्रदेशसभा सदस्य रहेका छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, सभामुख पूर्णबहादुर घर्तीसमेत गरी नेकपा माओवादी (केन्द्र)का १८, जनता समाजवादी पार्टी (जसपा) का तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् । प्रदेशसभामा पोखरेल अल्पमतमा परेका छन् ।
फेसबुक पेज Like गर्नुहोस