काठमाडौं,दैलेख - जिल्लाको नारायण नगरपालिका– ९ चुप्प्रा लाखेतडामा रहेको पञ्चकोशी पोल्ट्री फार्ममा आगलागि हुदाँ ११ लाख बराबरको क्षति भएको छ । विहीबार रातिको समयमा लागेको आगोबाट दुल्लु नगरपालिका–११ कालभैरका चित्रबहादुर भण्डारीको फार्ममा आगलागि हुदाँ १५ सय कुखुराका चल्ला जलेको बताइएको छ ।

उनि भन्छन्, ‘फार्ममा १५ सय कुखराका चल्ला हालेको थिएँ, आगोले सबै नस्ट बनाइदियो, फार्ममा पुराना कुखुुरा घटेपछि एउटा चल्लाको मुल्य १५ रुपयाँ हालेर १५ सय चल्ला हालेकोमा सबै नष्ट भएका छन् ।’ ५ लाख खर्च गरेर निर्माण गरिएको फार्मका ३ वटै कोठाहरु पूर्णरुपले जलेका छन् ।

राति दश बजेतिर फार्मबाहिर गानगुन आवाज निस्कीएको र आफू बाहिर आउँदा आगो लागेको देख्नासाथ नियन्त्रणको प्रयास गरे पनि खरले छाएको हुँदा आगो नियन्त्रण गर्न नसकिएको भण्डारीले बताए । उनका अनुसार आफूहरु फार्मभित्रै सुतिरहेको समयमा आगो लाग्नुले आगो कसैले लगाइदिएको हुन सक्छ ।

‘यदि कसैले नलगाएको भए कसरी आगो लाग्छ आफुहरुले आगो सम्बन्धी कुनै काम नगरेकोले आगो ब्यक्तिगत रिसिविका कारण कसैले लगाएको संका छ’, उनले भने । आगो लागेको थाहा पाए लगत्तै गएको प्रहरी टोलिले आगो निभाउने प्रयास गरेपनि प्रयास सफल हुन नसकेको प्रहरी चौकी चुप्राका इन्चार्ज जगदिस केसीले बताए । उनले घटनाको प्रकुति र क्षतिको विवरण सम्बन्धमा थप अनुसन्धान भईरहेको जानकारी दिए ।