काठमाडौं - कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको संख्यामा वृद्धि भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौं भित्रिनेभन्दा बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ । गत मंलवारदेखि बिहीवारसम्म तीन दिनमा झण्डै तीन लाखले उपत्यका छाडेका छन् । 

महाशाखाले तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडेका जानकारी दिएको छ । महाशाखाका अनुसार सरकारले स्कुल/कलेज बन्द तथा बढी भिडभाड हुने स्थानमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएसँगै उपत्यका छाड्नेको संख्यामा वृद्धि भएको हो । 

सबैभन्दा धेरै बिहीवार एकैदिन काठमाडौं उपत्यकाबाट एक लाख ८ हजार ४५८ मानिस विभिन्न नाकाबाट १८ हजार ५५४ ओटा सवारी साधनबाट बाहिरिएका छन् । बुधवारको तुलनामा बिहीवार उपत्यका भित्रिने यात्रुको संख्यामा पनि कमी आएको छ । बिहीवार ८३ हजार १३९ मानिससँगै १५ हजार १४० सवारी साधन भित्रिएका थिए ।

ट्राफिक प्रहरीका अनुसार बुधवार ९५ हजार २४७ जनाले काठमाडौं छाडेका छन् भने विभिन्न जिल्लाबाट ९८ हजार ९३४ जना प्रवेश गरेका छन् । त्यस्तै मंगलवार ९१ हजार ८१६ जनाले काठमाडौं छाड्दा ९० हजार २३० जना प्रवेश गरेका थिए । 

केही दिनअघिसम्म काठमाडौं छाड्नेभन्दा काठमाडौं भित्रिनेको संख्या बढी हुने गरे पनि पछिल्ला दिन कोरोनाको बढ्दो त्रासका कारण काठमाडौं छाड्नेको संख्या बढी देखिएको छ ।