धादिङ - धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वीराजमार्गमा यातायात अवरुद्ध भएको छ ।

आज बिहान करिब १० बजेबाट झर्न सुरु भएको पहिरोमा ठूलो परिमाणमा माटो र ढुङ्गा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको हो।

हाल सडकमा यातायात सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

दसैँ सुरु भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेको अवस्थामा राजमार्ग बन्द हुँदा हजारौँ सवारी साधन , यात्रु बाटोमै अलपत्र परेका छन् ।

बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा यसअघि सोमबार राति सुक्खा पहिरो खस्दा १७ घण्टा पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । बुधबार बेलुका झरेको पहिरो बिहीबार बिहान पन्छाएर सडक सञ्चालन गराइएको थियो ।

अन्य ठाउँमा पनि पहिरोको उच्च जोखिम रहेको भन्दै यात्रुलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।