काठमाडौं - कोरोना  भाइरस  (कोभिड–१९)  महामारीका  कारण  गरिएको  बन्दाबन्दीले महिलामा हुने पाठेघर क्यान्सरको समस्या  बढाएको  छ  ।  कोरोना  सर्ने  डर  तथा  बन्दाबन्दीका  कारण  अस्पताल  जान  नपाएर  पाठेघरमा  सामान्य  समस्या  भएको  महिलामा  अहिले  क्यान्सर  रोग  भइसकेको  स्त्री  तथा  क्यान्सर रोग विशेषज्ञहरूले जनाएका छन् । 

थापाथलीस्थित  परोपकार  प्रसूति  गृह  तथा  स्त्री रोग अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ  डा.  कृतिपाल  सुवेदीले  बन्दाबन्दीका  कारण धेरै महिलामा पाठेघरको मुखको क्यान्सर भएको जानकारी दिइन् । “समयमा उपचार गरे क्यान्सरसम्म पुग्नुपर्ने अवस्था थिएन,” उनले भनिन्, “सामान्य लक्षण देखिएकाहरूमा पनि बन्दाबन्दीका  कारण  अहिले  उपचारका  लागि  अस्पताल  आउँदा  रोग  फैलिएर  क्यान्सरसम्म  भएको छ ।” आफूकहाँ आएका बिरामीमध्ये छ जनामा दुई  जनालाई  क्यान्सर  भएको  डा.  सुवेदीले  बताइन्  ।  

उनले  पाठेघरको  मुखको  क्यान्सर  अहिले  ठूलै  समस्याका  रूपमा  आएको  हुनाले  यससम्बन्धी  जनचेतनाको  आवश्यकता आँैल्याइन् । यता धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ सुनिला शाक्यले बन्दाबन्दीका कारण पाठेघरका क्यान्सर  रोगी  बढेको  तर  यकिन  तथ्याङ्क  भने  नभएको  जानकारी  दिइन् ।  उनले  बन्दाबन्दी  खुकुलो  भएपछि  अस्पतालमा  आएका  बिरामीलाई  क्यान्सरको  लक्षणले  छोइसकेको जानकारी दिइन् ।

 गोरखापत्र दैनिकबाट