काठमाडौं, चितवन - जिल्लामा कोभिड– १९ का सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय संक्रमित छन् ।

गत असार १३ गते १ हजार १४ मा झरेको संक्रमित यही साउन १४ मा आइपुग्दा पबढेर दुई हजार ३० पुगेको हो । कार्यालयका अनुसार पछिल्ला केही दिनमा संक्रमितको सङ्ख्या बढ्दै गएको छ । गत वैशाख र जेठमा यहाँ सक्रिय संक्रमितको संख्या उच्च पुगेको थियो । जेठ १० गते सङ्क्रमितको संख्या ४ हजार ७१३ पुगेको थियो ।

असार लागेसँगै घट्दै गएको संक्रमितको संख्या पुनः बढ्न थालेको छ । असार १ गते १ हजार ५४८ रहेको संक्रिय संक्रमितको संख्या घट्दै गएर असार १३ गते १ हजार १४ मा झरेको थियो ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते १ हजार ८७, १६ गते १ हजार १९८, १८ गते १ हजार २२० हुँदै असार २३ गते १ हजार २७१ पुगेको थियो । उहाँका अनुसार असार १२ गतेदेखि साउन १३ गतेसम्म आइपुग्दा नयाँ संक्रमित मात्र १ हजार ३४ थपिएका छन् ।

संक्रिय संक्रमितको प्रतिशत पनि बढ्दै गएको छ । कार्यालयका निमित्त प्रमुख अमृत महर्जनले निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमित बढ्दै गएको जानकारी दिए । उनले भने ‘राम्रोसँग संक्रमितको संख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि कोरोनाको जोखिम बढेको छ ।’ कोरोना नियन्त्रणका लागि अहिले खोपको अभियान जारी रहेको जनाउँदै उनले कारोना सङक्रमण बढ्दै गएकाले सबै सजग रहन आग्रह गरे ।

जिल्लामा रहेका संक्रमित मध्ये ११६ का अस्पतालमा उपचार भइरहेको छ । ९ सार्वजनिक आइसोलेसनमा र १ हजार ९ सय ५ होम आइसोलेसनमा छन् । जिल्लामा हालसम्म ३ सय २७ को मृत्यु भएको छ ।

कूल संक्रमित संख्या २० हजार ९० पुगेको छ । जिल्लाका अस्पतालमा बाहिरी जिल्लाका समेत गरी २१३ को उपचार भइरहेको छ । ती मध्ये ७५ सघन उपचार कक्षमा, १२ भेन्टिलेटरमा, ५० एचडियूमा र ८८ सामान्य श्ययामा उपचाररत छन् ।