काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल स्वास्थ्यउपचारका लागि बाबा रामदेवको योगपिठमा पुगेकी छन् ।

प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमा तस्वीरहरू सार्वजनिक गर्दै आमालाई हरिद्वारमा रहेको पतञ्जली योगपिठ आयुर्वेदिक उपचारका लागि पुगेको छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।

गंगाले फेसबुकमा लेखेकी छन्, ‘ममीको आयुर्वेदिक उपचारका लागि हरिद्वारस्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्णसँगै हामी ।’

उनले योगपिठमा बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरेकी छन् । सीता नेकपा नेता मातृका यादव, छोरी गंगासहित हरिद्वार पुगेकी हुन् । 

लामो समयदेखि बिरामी रहेकी सीता दाहालको स्वदेश तथा विदेशमा निरन्तर उपचार भइरहेको छ । एक मात्र छोरा प्रकाश दाहालको निधनपछि उनी थप अशक्त बनेकी छन् । उनी हाल हिँडडुल समेत गर्न नसक्ने अवस्थामा छिन् ।