विभिन्न दलका शीर्ष नेताहरूसँग राष्ट्रपतिको भेटवार्ता : राष्ट्रिय मुद्दाहरूमा एकजुट हुन आह्वान
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय मुद्दाहरूमा राजनीतिक दलहरूलाई एकजुट हुन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले भौगोलिक अखण्डताका लागि दलहरूबीच अभूतपूर्व एकता देखिएकोमा सरकार तथा राजनीतिक दलका शीर्ष नेताहरूलाई धन्यवादसमेत दिएकी छन् ।
राष्ट्रपतिले सरकार प्रमुख तथा राजनीतिक दलका शीर्ष नेताहरूलाई बुधबार साँझ राष्ट्रपति निवास शीतलमा बोलाउनु भई समसामयिक विषयमा छलफल गर्ने क्रममा यस्तो धारणा राखेकी छन् ।राष्ट्रपतिले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नयाँ नक्सामा समावेश गरी संविधानमा निशान छाप कायम गर्न संविधान संशोधन गर्न दलहरूबीच देखा परेको अभूतपूर्व राष्ट्रिय एकताप्रति आफू ज्यादै खुशी भएको भन्दै सबैलाई धन्यवाद दिइन् ।
राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीविरुद्धको प्रतिकार्यमा राष्ट्रिय एकता प्रदर्शित हुँदै आएकोमा खुसी व्यक्त गरिन्। यसविरुद्धको अभियानमा अग्रपङ्क्तिमा रहेर काम गर्ने डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई धन्यवाद व्यक्त गर्नुहुँदै उहाँले कोरोना प्रभावित बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।
यसैगरी, राष्ट्रपतिले वातावरण विनाशप्रति चिन्ता व्यक्त गर्दै नदी प्रणाली र अन्य प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै पर्यावरण सन्तुलनका लागि प्रभावकारी कार्य गर्न जोड दिइन् । साथै उनले यी कार्यमा पनि राजनीतिक दलहरूबीच एकता कायम हुनुपर्नेमा विश्वास राष्ट्रपतिले लिएको जानकारी उनका प्रमुख निजी सचिव डा. भेषराज अधिकारीले दिए ।
राष्ट्रपति भण्डारीले राष्ट्रका ज्वलन्त विषयमा दलहरूबीच हुने सहकार्य र एकताले मुलुकको आर्थिक विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले दिए ।
राष्ट्रपति भण्डारीले कोरोना महामारीविरुद्धको प्रतिकार्यमा नेपाल सरकार, राजनीतिक दल, प्रदेश र स्थानीय सरकार पनि लागेका छन्, यसका लागि सबैलाई धन्यवाद ज्ञापन गरिन् ।
कोरोनाका कारण देशमा आर्थिक मन्दीको अवस्था आएको र यसबाट नेपाली अर्थतन्त्रमा पर्ने तत्कालीन र दीर्घकालीन प्रभावलाई ध्यान दिन पनि राष्ट्रपतिले शीर्ष नेताहरूसँग आग्रह गरिन् । ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री के.पी. शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिना, प्रमुम प्रतिपक्षी दलको नेता शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पू्र्व अध्यक्ष खिलराज रेग्मी, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलगायतका नेताहरू सहभागी थिए ।
राष्ट्रपतिले बेला बेलामा राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने नियमित प्रक्रिया अनुसार नै यो भेटघाट कार्यक्रम राखिएको राष्ट्रपतिको कार्यालय जनाएको छ ।
गोरखापत्र दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस