काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगन थापा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धि अध्यादेशको विपक्षमा उभिएका छन् । उनले सो अध्यादेश हिजो गलत,आज गलत र सधैं गलत हुने बताएका छन् । 

बुधबार सामाजिक सञ्जालमार्फत् नेता थापाले संसद अधिवेशन हठात् अन्त्य गरेर अध्यादेश ल्याउनु जसले गरेपनि गलत भएको बताए । 

‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत१हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’ थापाले ट्विट गर्दै भने । 

ओली सरकारले अध्यादेश ल्याउँदा गलत भन्नेले आज समर्थन गर्न नहुने थापाले बताए । हिजो संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक नभएको उनको भनाई छ । 

‘गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन।’ थापाले भने, ‘विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।’