काठमाडौं - नागरिक समाजका अगुवाहरूले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेका छन् । शनिबार माइतीघर मण्डलामा प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शंख बजाएर प्रदर्शन भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिरहरु अनुहारमा लगाउँदै सहभागीहरुले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको यो कदम संसद विघटन मात्रै नभई संविधानमाथिकै आक्रमण भएको उनीहरूको भनाइ छ।

प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।