काठमाडौं - जन्मदिनको पार्टीमा होहल्ला गर्दैगर्दा पक्राउ परेका कुख्यात गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे’ माथि जिल्ला प्रहरी परिसर भक्तपुरले पनि कुटपिट मुद्दामा अनुसन्धान गर्ने भएको छ ।

भक्तपुर प्रहरीले एक वर्षअगाडिको घटनामा उनको संलग्नता पुष्टि भएपछि कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।

२०७८ भदौ ४ गते भक्तपुरमा भएको एक कुटपिट घटनामा चक्रे मिलनको संलग्नता पुष्टि भएपछि भक्तपुर प्रहरी कार्यालयले उनलाई प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी गरेको बताइएको छ ।

भक्तपुर प्रहरीका अनुसार चक्रे मिलन हाल काठमाडौं भद्रकालीस्थित प्रहरी हिरासतमा रहेकाले सोही अवस्थामै बयान लिने कार्य अघि बढाइनेछ ।

घटनामा संलग्न भएको आरोपमा पहिलो जाहेरी भदौ ९ गते भक्तपुर जिल्ला अदालतमा दर्ता भएको थियो । पीडित मनिष रायमाझीले ‘डुँडे’ भनी सामाजिक सञ्जालमा टिप्पणी गरेपछि चक्रेले रायमाझीलाई फोनमा धम्क्याएको र त्यसपछिका दिनहरूमा अजित खवास नेतृत्वको समूहले रायमाझीमाथि कुटपिट गरेको उल्लेख छ ।