काठमाडौं - नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आजदेखि औपचारिक रुपमा कार्यभार सम्हाल्दै छन् ।

बिहान साढे ९ बजे गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिएपछि खापुङले प्रहरी प्रधान कार्यालय नक्सालमा जिम्मेवारी ग्रहण गर्न लागेका हुन् ।

सरकारले भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत वरीयतामा पहिलो स्थानमा रहेका एआईजी खापुङलाई ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो ।

यसअघि आईजीपी दीपक थापा ३० वर्षे सेवा अवधि पूरा भएपछि अनिवार्य अवकाशमा गएका थिए । त्यही व्यवस्थाअनुसार महानिरीक्षक खापुङ पनि अढाई महिनाभित्रै अवकाश हुनेछन्।