प्रचण्डको सुरक्षाको लागि पूर्वलडाकु खटिए
काठमाडौं - नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाको लागि पूर्वलडाकुहरु खटिएका छन् । सरकारले सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीको संख्यामा कटौती गरेपछि पूर्वलडाकुहरु प्रचण्डको सुरक्षाको लागि खटिएका हुन् ।
प्रचण्डलाई सुरक्षा चुनौती रहेको भन्दै पूर्वलडाकु खटाइएको हो । प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका बटालियन कमाण्डर प्रकाश पाण्डे ‘परलोक’को नेतृत्वमा खटिएको हो । पाण्डेको नेतृत्वमा १० जनाको टोली खटाइएको हो । उनीहरुको गाडी प्रचण्डको गाडीभन्दा अघि हिँड्ने छ ।
पाण्डे पूर्वजनमुक्ति सेनाका बटालियन कमाण्डर हुन् । शान्ति प्रक्रियामा आएदेखि नै ‘परलोक’ प्रचण्डको सुरक्षा टोलीमा थिए। प्रचण्ड प्रधानमन्त्री भएपछि उनी शक्तिखोरस्थित तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजनमा थिए। सेना समायोजनमा स्वेच्छिक अवकाश रोजेका उनी वाइसीएलमा थिए। नेकपा गठन भएपछि उनी राष्ट्रिय युवा संघमा आवद्ध छन्।
यसअघि प्रचण्डको सुरक्षाको लागि सशस्त्र प्रहरीले निरीक्षकसहित ४७ जना खटाइएको थियो। त्यस्तै, नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ जना गरि जम्मा ७३ जना सुरक्षाकर्मी खटाइएको थियो । गृह मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ अनुसार प्रचण्डलाई दुई जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोली खटाएको छ।
फेसबुक पेज Like गर्नुहोस