काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात गत वर्ष जस्तै चालु आ.ब. २०७८/०७९ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्धेश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले बढिरहेको जोखिमको सामना गर्न सघाउ पुगेको बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले बैंकिङ्ग क्षेत्रमा भएको ज्ञानको कमीलाई पुरा गरेको बताए ।

उनले निकट भविष्यमा नै एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीसंँग मिलेर बैंकिङ्ग तथा वित्तीय विषयमा एकवर्षे स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम शुरु गर्ने समेत जानकारी दिए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले कार्यक्रमबारे प्रकाश पारेका थिए भने सिकाइ तथा विकास विभागका विभागीय प्रमुख दीपकराज न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।