काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधतामा नेपालको अनुभवबाट विश्वले सिक्न सक्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा आज न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनमा भर्चुअल सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

जलवायुसम्बन्धी प्रतिकार्य अविलम्ब कार्यन्वयन गर्नु सबैको नैतिक दायित्व भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरमा सहमति भएका विकासका खाकाहरू र वातावरणसम्बन्धी बहुपक्षीय सम्झौताहरूअन्तर्गत गरिने प्रयासबीच सामञ्जस्य कायम गर्न जरुरी भएको बताए। 

पूर्ण पाठ,

यस सम्मेलनका अध्यक्ष महोदय,

महामहिम राष्ट्र प्रमुख तथा सरकार प्रमुखज्यूहरू,

संयुक्त राष्ट्र संघका महासचिवज्यू,

प्रतिनिधिमण्डलकाविशिष्ट सदस्यज्यूहरू,

यो महत्वपूर्ण शिखर सम्मेलनको आयोजना गर्नुभएकोमा संयुक्त राष्ट्र संघका महासचिवलाई धन्यवाद ज्ञापन गर्दै मन्तव्य शुरू गर्न चाहन्छु । 

जैविक विविधताका स्रोतहरू हाम्रा जीवन धान्ने आधार हुन् । यी स्रोतबाट स्वच्छ हावा, शुद्ध पानी, खाद्यान्न तथा जीविकोपार्जन,  खनिज तथा औषधिउपलब्ध हुन्छ साथै मानव जीवन तथा अर्थतन्त्र चल्ने गर्दछ । 

जैविक विविधताले पुस्तालाई जोड्दछ साथै यो राष्ट्रिय सीमारहित हुन्छ । 

प्रकृतिसँग सामञ्जस्यतामा जिउनु नेपाली संस्कृतिको अभिन्न भाग हो । जैविक विविधतासम्बन्धी अमूल्य ज्ञान हाम्रा प्राचिन ऋषि तथा सन्तहरूले पुस्तेनी हस्तान्तरण गरेका छन् । यसको संरक्षणको महत्व बारे सिकाएका छन् । त्यसैले, जैविक विविधताको संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको छस साथै यो क्षेत्रमा राम्रो प्रगति समेत हासिल गरेको छ ।

जैविक विविधताको संरक्षण “समृद्ध नेपालसुखी नेपाली” को राष्ट्रिय आकांक्षाको महत्वपूर्ण आयामको रुपमा रहेको छ । 

नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा रहेको छ र हामीले आइची लक्ष्य– ११ हाँसिल गरिसकेका छौं । सन् २०३० सम्ममा ३० प्रतिशत पुर्‍याउने हाम्रो योजना रहेको छ। 

भू–परिदृश्यस्तरीय संरक्षण र बसाइँ सर्ने प्रजातिसम्बन्धमा सीमावारपार सहयोगकाक्षेत्रमा नेपालले हासिल गरेका उपलब्धीलाई सफलताको उदाहरण मानिन्छ ।सोही सफलता मानव र जंगली जनवारबीच हुने द्वन्द व्यवस्थापनमा सामुदायिक संलग्नतामा पनि देख्न सकिन्छ ।

हामी कहाँ जलविद्युतबाट उपलब्ध हुने स्वच्छ उर्जाले जैविक विविधतामा पर्ने दवावलाई कम गरेको छ । 

कानूनको सबल कार्यान्वयन र अन्तर्राष्ट्रियस्तरमा सहयोगको अभिवृद्धिको माध्यमबाट हामीले झण्डै एक दशक यता गैंडाको शिकारलाई शुन्यमा सिमित गरेका छौं । नेपालमा बाघको संख्या लक्षित वर्ष सन् २०२२ भन्दाअगावै झण्डै दोब्बर हुँदैछ । हाम्रो अनुभवबाट विश्वले सिक्न सक्दछ । 

महामहिमज्यूहरू,

नेपालको पर्वतीय पारिस्थितिक प्रणाली विशिष्ट प्रयोगशाला हो । खोजकर्ता, सोधकर्ता तथा वैज्ञानिकहरूका लागि यो ज्ञानको वास्तविक स्रोत पनि हो । मानव मात्रको हितका लागि पर्वतीय पारिस्थितिक प्रणाली महत्वपूर्ण साझा निधिका रूपमा रहेको छ । यसको लाभ हाम्रो सीमापारीसम्म पुगेको हुन्छ ।

मानव अतिक्रमण, वातावरणीय प्रदुषण, जलवायु परिवर्तन तथा वन्यजन्तु विरूद्धका अपराधले जैविक विविधतामा क्षति पुगेको छ। 

जैविक विविधता संरक्षण त्यस्तोकार्य हो जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै सरोकारवालाहरूकोप्रतिवद्धता र कार्यान्वयन आवश्यक हुन्छ । मानिसको स्रोतमाथिको अधिकार तथा प्राकृतिक स्रोतको दिगो संरक्षणबीच समुचित सन्तुलन कायम गर्दै हामीले अझ महत्वकांक्षी लक्ष्यहरू निर्धारण गर्नुपर्दछ । 

हामीले जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गुर्न आवश्यक छ । 

जलवायुसम्बन्धी प्रतिकार्य अविलम्ब कार्यन्वयन गर्नु सबैको नैतिक दायित्व हो । अन्तर्राष्ट्रियस्तरमा सहमति भएका विकासका खाकाहरू रवातावरणसम्बन्धी बहुपक्षीय संझौताहरू अन्तर्गत गरिने प्रयासबीच सामञ्जस्यता कायम गर्नुपर्दछ ।

म आग्रह गर्न चाहन्छु, हामी सबै एक भई उभिऔं र यो सुन्दर धर्तीलाई आउँदा पुस्ताका लागि बचाई राखौं ।हामीलाई उनीहरूको भविष्यसँग संझौता गर्ने अधिकार छैन । यसलाई भोलिका लागि अझ बस्नयोग्य बनाऔं । 

आवश्यक राजनीतिक इच्छाशक्ति जागृत गरौं, विचार तथा नवप्रबर्तनको प्रवर्द्धन गरौं र जैविक विविधता संरक्षणका लागि दृढताकासाथकार्य गरौं । 

धन्यवाद !