काठमाडौं - पासपोर्टविहीन तथा पर्यटक भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा नेपालमा बस्दै आएका २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई काठमाडौंको डल्लु, सितापाइला लगायतका क्षेत्रमा सञ्चालित कपडा कारखानामा काम गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पक्राउ परेका बंगलादेशी नागरिक विभिन्न समयमा नेपाल प्रवेश गरेका थिए। उनीहरूमध्ये केहीसँग स्थायी परिचय खुल्ने कागजात र पासपोर्ट नभएको, भने केहीले पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै बसोबास गर्दै रोजगारी गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि थप कानुनी कारबाहीका लागि अध्यागमन विभाग, कालीकास्थान पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।