काठमाडौं - चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। 

उनको गएराति १२ बजे ललितपुरको हत्तिवनस्थित आपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी क्यान्सर रोगबाट पीडित थिइन्। क्यान्सरको उपचारकै क्रममा उनको ५९ वर्षको उमेरमा निधन भएको हो।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा. ५ भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी  उनले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन्। उनले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरु गाएकी छन्। 

 २०४५ सालमा रेडियो नेपालबाट गीत रेकर्ड गर्ने अवसर पाएपछि उनी केही समय अघिसम्म गीत संगीत क्षेत्रमा व्यस्त थिइन्। उनको आजै बौद्ध परम्परा अनुसार अन्त्यष्टी गर्ने तयारी भएको तामाङ कलाकार संघका वरिष्ठ उपाध्यक्ष रोशन फ्युबा तामाङले जानकारी दिए।

उनका अनुसार श्रृद्धान्जलीका लागि राष्ट्रिय नाचघरमा राख्ने तयारी गरिएको छ। उनको दुई छोरी छन्।