काठमाडौं - सहरी विकास मन्त्री प्रभु साहले सर्लाहीमा आफू चढेको गाडीले पैदलयात्रुलाई ठक्कर दिएको घटनाबारे गम्भिर ध्यानाकर्षण भएको बताएका छन्।

फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री साहले सर्लाहीको हरिवन चौकमा आफु चढेको गाड़ीमा झुकिएर लड़ेको व्यक्तिलाई केही नभएकोले ढुक्क भएर हिँडेको सामान्य विषय भएको बताएका छन्।

साथै, सामान्य बिषयलाई “ठक्कर दिएर भागे” भनेर आफुलाई बदनाम गरिएको उनको दाबी छ ।

उनले प्रहरीले प्रहरीले आफ्नो गाडी भएको खुलेको भनी भ्रमपूर्ण अभिव्यक्ति दिएको दाबी गरे । 'नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी 'खुलेको' भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दुस्खद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गर्नु आपत्तिजनक छ ।' उनले लेखेका छन् ।

पूर्व-पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले ठक्कर दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुरका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका थिए ।

प्रहरीका अनुसार तामाङको स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ । उनको कम्मर र खुट्टामा चोट लागेको छ ।